काठमाडौं, भदौ १० । रसुवाको स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा आएको भीषण बाढीपछि सरकारले खोजी, उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन अन्य जिल्लाबाट समेत अतिरिक्त सुरक्षा जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ। विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, नेपाल स्काउट तथा रेडक्रसलगायतका संस्थासँग समन्वय गरी आवश्यक कदम अघि बढाइएको उनले बताएका छन्। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा स्वास्थ्यकर्मी पठाउने प्रक्रिया समेत सुरु भइसकेको जनाइएको छ।
बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। जोखिमयुक्त क्षेत्रका नागरिकलाई एसएमएस तथा फोनमार्फत समेत सूचना दिई सुरक्षित स्थानमा जान सचेत गराइएको छ।
सम्भावित उद्धार तथा राहत कार्यका लागि उपलब्ध हेलिकप्टरहरूलाई प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको छ। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आवश्यकताअनुसार उद्धार कार्यमा प्रयोग गर्न हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको छ। केही निजी हेलिकप्टरसमेत प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेका छन्।
प्रधानमन्त्री शाहले आगामी आवश्यक कदम तथा राहत–उद्धारको थप रणनीति तय गर्न उच्चस्तरीय बैठक बोलाइएको जानकारी दिएका छन्। उनले बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा उद्धार तथा सरकारी निकायबाट आउने आधिकारिक अपडेट कुर्न अनुरोध गरेका छन्।
सरकारले उद्धार, राहत तथा अन्य आवश्यक जानकारीका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ। सरकारले नागरिकलाई अपुष्ट सूचनाको पछि नलागी सम्बन्धित सरकारी निकायबाट जारी हुने आधिकारिक सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ।




