काठमाडौं, भदौ ११ । देश अकल्पनीय प्राकृतिक विपत्तिको चपेटामा परेसँगै सरकारले आफ्ना सम्पूर्ण संयन्त्रहरूलाई उद्धार र राहतमा पूर्ण रूपमा झोकेको छ। प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत देशवासीका नाममा सम्बोधन गर्दै राज्यको सम्पूर्ण शक्ति प्रभावित क्षेत्रमा परिचालन भइसकेको र धैर्य कायम राख्न अपिल गरेका छन्।
आज बिहान ६:३० बजेदेखि नै उद्धारका लागि हेलिकोप्टरहरू परिचालन गरिएका छन्। अहिलेसम्म १५ भन्दा बढी हवाई उडानमार्फत उद्धार कार्य भइसकेको छ भने बाँकी हेलिकोप्टरहरूलाई ‘स्ट्यान्डबाइ’ राखिएको छ।
यसैबीच, नेपाली सेनाले रसुवाको टिमुरेमा सञ्चालन गरेको जोखिमपूर्ण रेस्क्यु अपरेशन सफल भएको छ। सेनाले टिमुरेबाट ११६ जना (९५ नेपाली र २१ भारतीय) को सकुशल उद्धार गरेको छ भने सुरुङभित्र trapped भई बसेका ७ जना नेपालीलाई समेत सकुशल बाहिर निकालेको छ।
प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि आवश्यक पूर्वाधार उपकरणहरू परिचालन गरिएको छ। जेनेरेटर, टेन्ट, मेडिकल सामग्रीसँगै फलाम तथा ढुङ्गा काट्ने हेभी मेसिनहरू पनि प्रभावित क्षेत्रमा पुर्याइएको छ।
त्यसैगरी, सञ्चार सेवा सहज बनाउन पोर्टेबल मोबाइल टावर र अस्थायी चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नुवाकोटमा प्रभावित नागरिकका लागि बसोबास, खाना र खानेपानीको व्यवस्था सहितको अस्थायी शिविरसमेत तयार पारिएको छ।
उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन ड्रोनमार्फत प्रभावित क्षेत्रको अवस्था र आवश्यकताबारे सूचना सङ्कलन गर्ने काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ।
ज्येष्ठ नागरिक र बालबालिकालाई पहिलो प्राथमिकता
हेलिकोप्टर उद्धारमा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला र बालबालिकालाई पहिलो प्राथमिकतामा राखिने प्रधानमन्त्रीले स्पष्ट पारेका छन्।
विश्वभरका नेपाली र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यमा यो सङ्कट पन्छाउने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री बालेनले भनेका छन्— “यो धैर्य र संयम अपनाउने समय हो, आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को सामना गर्नेछौँ।”




