धादिङ भदौ १२ । चीनको तिब्बततर्फबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएपछि धादिङ जिल्ला प्रशासन कार्यालयले त्रिशूली नदीको दुवै किनारमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक गरेको सूचनामार्फत नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न र सम्भावित जोखिमबाट जोगिन आग्रह गरिएको हो।
प्रशासनले नदीको जलसतह बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्रिशूली नदी आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। नदीको बहाव बढेको अवस्थामा किनारमा नजान, अनावश्यक आवतजावत नगर्न तथा जोखिमयुक्त स्थानमा नबस्न प्रशासनले सचेत गराएको छ।
यस्तै, कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, स्थानीय जनप्रतिनिधि तथा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन आग्रह गरिएको छ।
आपत्कालीन अवस्थाका लागि प्रशासनले नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ लगायतका सम्पर्क नम्बर उपलब्ध गराएको छ।
प्रशासनले विशेषगरी त्रिशूली नदीको दुवै किनारमा रहेका बस्तीका नागरिकलाई रातको समयमा समेत सतर्क रहन र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले नागरिकको सुरक्षा पहिलो प्राथमिकता भएकाले सूचना प्राप्त हुनासाथ सतर्कता अपनाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।





