काठमाडौं, भदौ १४ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि खोज, उद्धार र सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। पछिल्लो विवरणअनुसार ६ हजार २५३ जना प्रहरी उद्धार तथा सुरक्षामा खटिएका छन्।
बाढीका क्रममा २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। विपद्का कारण हालसम्म ७३८ जनाको शव फेला परेको जनाइएको छ।
यस्तै, बाढी तथा पहिरोमा परी २ हजार ६९९ जना घाइते तथा उद्धार गर्नुपर्ने अवस्थामा रहेको विवरण सार्वजनिक गरिएको छ। प्रभावितमध्ये रसुवा, नुवाकोट र धादिङका नागरिकको संख्या उल्लेख्य रहेको छ।
प्रहरीको तथ्यांकअनुसार रसुवामा ६०६ जना, नुवाकोटमा २ हजार २० जना र धादिङमा ३ जना प्रभावित रहेको देखाइएको छ। बाढीबाट प्रभावित तथा घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विवरणमा काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या ९६० जना रहेको उल्लेख छ।
प्रहरी तथा अन्य उद्धार टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने कामसमेत जारी रहेको छ।




