काठमाडौं, भदौ २१ । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएका छन्। प्रधानमन्त्री शाह महासभामा सहभागी हुन न्युयोर्क जाने तयारीमा रहेको स्रोतले जनाएको छ।
अमेरिकाको न्युयोर्कमा हुने महासभामा प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुने बताइएको छ।
यसअघि प्रधानमन्त्री शाह महासभामा सहभागी हुन अमेरिका नजाने चर्चा थियो। तर, केही समयअघि रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री शाहले महासभामा सहभागी हुने निर्णय गरेको स्रोतको दाबी छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सन् २०२६ को सेप्टेम्बर ८ देखि सुरु हुँदैछ। महासभाको औपचारिक उद्घाटन सेप्टेम्बर ८ अर्थात् नेपाली पात्रोअनुसार भदौ २४ गते हुनेछ।
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणका क्रममा महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न उच्चस्तरीय भेटवार्ता तथा छलफलसमेत हुने अपेक्षा गरिएको छ।




