चितवन, भदौ २१ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक मर्मत तथा सुधारको काम भइरहेकाले भदौ २२ गतेदेखि सवारी आवागमनमा आंशिक रोक लगाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय, चितवनले सूचना जारी गर्दै सडक मर्मतका क्रममा निर्धारित समयमा सवारीसाधन पूर्ण रूपमा रोक्ने र बाँकी समयमा आवागमन खुला गर्ने जनाएको छ। सडक मर्मत कार्यका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका लागि यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
सूचनाअनुसार मर्मत कार्यका क्रममा बिहानदेखि साँझसम्म विभिन्न समयावधिमा सवारी आवागमन रोक लगाइनेछ। रोकिएको समयमा सडकमा मर्मत तथा निर्माण कार्य सञ्चालन गरिने र तोकिएको खुला समयमा मात्र सवारीसाधन सञ्चालन गर्न दिइनेछ।
जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकलाई तोकिएको समयतालिका पालना गर्न, धैर्यपूर्वक यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आवश्यकताअनुसार विचार गर्न अनुरोध गरेको छ। साथै, उल्लेखित कार्यतालिका अनुसार सवारी सञ्चालन गरी सडक मर्मतमा सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
यो व्यवस्थाले नारायणगढ–मुग्लिन सडक हुँदै यात्रा गर्ने यात्रु तथा मालवाहक सवारीसाधनलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था र निर्धारित समयतालिका बुझेर मात्र हिँड्न प्रशासनले आग्रह गरेको छ।





