काठमाडौं, भदौ ३१ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी गर्ने क्रममा बुधबार तीन जनाको शव फेला परेको छ।
विदेशी विशेषज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा सुरुङको अन्तिम भागमा तीनवटा शव फेला पारेको हो। फेला परेका शवमध्ये दुईवटा बाहिर निकालिसकिएको छ भने एउटा शव निकाल्ने कार्य जारी रहेको जनाइएको छ।
उद्धार कार्यका लागि हेलिकप्टरमार्फत स्याफ्रूबेँसीमा एक्साभेटर र लोडर पुर्याइएको थियो। करिब १ हजार ५० मिटर कडा चट्टान फुटाउँदै सुरुङतर्फ जाने बाटो निर्माण गरिएको थियो।
सुरुङभित्र जमेको करिब ७० मिटर गेग्रान हटाउने क्रममा पानी निस्किएपछि उद्धार टोली करिब १३० मिटरसम्म सुरुङभित्र प्रवेश गरेको थियो। तर सुरुङको माथिल्लो भागसम्म पानीको सतह पुगेपछि मेसिन प्रयोग गर्न कठिन भएपछि गोताखोर टोली परिचालन गरिएको थियो।
बुधबार गोताखोर टोलीले जोखिम मोलेर सुरुङको अन्तिम भागसम्म पुगेर खोजी गर्दा तीनवटा शव फेला पारेको हो। सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।




