काठमाडौं, असोज १ । नेपालभरका कालीगढ, मजदुर तथा उद्यमीहरूले आज विधिपूर्वक पूजाआजा गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व भव्य रूपमा मनाएका छन्। सृष्टिकर्ता एवं शिल्पका आदिदेव मानिने भगवान विश्वकर्माको सम्झनामा आज बिहानैदेखि कलकारखाना, वर्कसप, निर्माण कम्पनी तथा यातायात क्षेत्रमा विशेष चहलपहल रह्यो। आजको दिन कालीगढहरूले उपयोगमा ल्याउने विभिन्न औजार तथा यन्त्र-उपकरणमा पूजा आराधना गरेमा ती सामानहरू धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र उत्कृष्ट नतिजा तथा राम्रो काम गर्न सकिने धार्मिक विश्वास रहिआएको छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो। प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा मानिन्छ भने विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ।
वास्तुशास्त्री शिव पोखरेलका अनुसार विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा मानिन्छ र ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ उनैले रचना गरेको विश्वास गरिन्छ। यही सम्झनामा नेपालका कालीगढहरूले विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वता र सृजनात्मक क्षमताको सम्मान गर्ने गर्दछन्। यसरी पूजा गर्दा आफूमा पनि विश्वकर्माका गुण र सीप समाहित हुने जनविश्वास रहेको छ।
वास्तु शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा समेत मनाउने गरेका छन्। चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख गरिएको छ भने पछिल्लो समय नेपालमा वास्तु विद्याको पुनर्जागरणसमेत सुरु भएको पाइन्छ।




