काठमाडौं, असोज २ । नेपाली कांग्रेसका सभापति गगन थापाले लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गरेका छन्।
थापाले लोकतन्त्रका लागि जीवन समर्पण गरेका गणेशमान सिंहको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्नुपर्ने बताएका छन्। १५औँ महाधिवेशनको यात्रालाई नेतृत्व चयनमा मात्र सीमित नगरी नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई थप सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ।
उनी लेख्छन् –
लोकतन्त्रका लागि जीवन समर्पण गर्ने, कठिन परिस्थितिमा पनि आफ्नो अडानबाट विचलित नहुने साहसी, त्यागी र निष्ठावान् नेता – लौहपुरुष गणेशमान सिंहप्रति २९औँ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन।
हामी १५औँ महाधिवेशनको यात्रामा छौं। यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर पनि हो।
समय बदलिएको छ, चुनौती बदलिएका छन्।
तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ।
लौहपुरुष गणेशमान सिंहका आदर्शलाई आत्मसात् गर्दै नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गरौँ।
गणेशमान सिंहप्रति हार्दिक श्रद्धासुमन।
जय नेपाल। – गगन थापा, सभापति , नेपाली कांग्रेस




