काठमाडौं, असोज ४ । बंगालको खाडी र अण्डमान सागरको बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनचापीय प्रणाली आगामी केही दिनमा चक्रवाती आँधी (साइक्लोन) मा परिणत हुने सम्भावना बढेको मौसमविद्हरूले बताएका छन्। चक्रवात विकसित भएमा यसको नाम ‘अर्नब’ रहनेछ।
उक्त मौसमी प्रणालीको प्रभाव नेपालमा असोज ८, ९ र १० गते बढी पर्न सक्ने अनुमान गरिएको छ। मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार हाल उपलब्ध अधिकांश मौसम पूर्वानुमान मोडेलहरूले उक्त अवधिमा अवस्था जोखिमपूर्ण हुनसक्ने संकेत गरेका छन्।
विशेषगरी असोज १० गते सबैभन्दा ठूलो जोखिम हुनसक्ने अनुमान गरिएको छ। केही स्थानमा ७ सय मिलिमिटरभन्दा बढी वर्षा हुनसक्ने सम्भावना समेत रहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढ्न सक्ने बताइएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमबाहेकका क्षेत्रमा असोज ८ देखि १० गतेसम्म लामो दूरीको यात्रा स्थगित गर्नु उपयुक्त हुने सुझाव दिइएको छ। नदी तथा खोलाको तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन तथा अन्य क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।




