काठमाडौं, असोज ११ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि आफन्तको जिम्मा लगाउँदै घर पठाएको छ।
आइतबार बिहान करिब ३ बजे काठमाडौंको महाराजगञ्जस्थित निवासबाट प्रहरीले जबरालाई नियन्त्रणमा लिएको थियो। प्रहरी टोली उनको निवास पुग्दा जबरा र परिवारका सदस्यहरू सुतिरहेका थिए।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जबरालाई आफन्तको जिम्मा लगाएर घर पठाइएको पुष्टि गरेका छन्। उनका अनुसार जबराको निवासमै सुरक्षा व्यवस्था मिलाइनेछ।
प्रहरी अधिकारीहरूले जबराको सुरक्षामा सम्भावित खतरा रहेको सूचना प्राप्त भएको बताएका छन्। सोही आधारमा सुरक्षाका लागि उनलाई प्रहरी कार्यालय ल्याइएको प्रहरीको भनाइ छ।
तर, जबराले भने आफूलाई कुनै सुरक्षा खतराबारे जानकारी नभएको बताएका थिए। उनले घरमै थप सुरक्षाकर्मी खटाइदिन प्रहरीसँग आग्रह गरेको जनाइएको छ।
जबरालाई किन र कुन प्रकृतिको सुरक्षा चुनौती रहेको थियो भन्नेबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन।




