ललितपुर, असोज १२ । ललितपुर महानगरपालिका–२४, धापाखेलमा सोमबार बिहान साढे दुई तले पक्की घर जगसहित भत्किएर ढलेको छ। स्थानीय सोवितकुमार थापाको घर बिहान करिब ६ः३५ बजे ढलेको ललितपुर प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
भिरालो सतहमा निर्माण गरिएको उक्त घर निरन्तरको वर्षाका कारण मुनिको माटो खुकुलो हुँदै गएपछि भत्किएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
घर जोखिममा रहेको पूर्वानुमान भएपछि प्रहरी र स्थानीय प्रशासनले आइतबार नै परिवारलाई घरबाट बाहिर निकालेका थिए। समयमै घर खाली गराइएकाले सम्भावित ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
उक्त घरमा घरधनी थापासहित तीन जनाको परिवार बस्दै आएको थियो। घटनापछि प्रहरी तथा सम्बन्धित निकायले घटनास्थलको निरीक्षण गरी आवश्यक विवरण संकलन तथा क्षतिको मूल्यांकन गरिरहेका छन्।




