काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ ।
मतदानको सुरुवात पार्टीका शीर्ष नेताहरूले गरेका छन् । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान गर्न करिब ४० मिनेट लागेको जनाइएको छ । मतदानस्थलमा लाइनमा बसेका महाधिवेशन प्रतिनिधिहरूले अहिले विद्युतीय मेसिनमार्फत मतदान गरिरहेका छन् ।
यसअघि हिजो नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउँदै आजबाट मात्र मतदान सुरु गरिएको हो । निर्वाचन समितिका अनुसार मतदान ‘रामलक्ष्मण’ विद्युतीय भोटिङ मेसिनमार्फत भइरहेको छ । नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।
मतदान बिहान ८ बजेदेखि सुरु हुने भनिएको भएपनि मतदान एक घण्टा ढिलो गरी सुरु भएकाे हाे । विद्युतीय मतदान प्रणालीमा प्राविधिक समस्या देखिएपछि मंगलबारका लागि तय गरिएको मतदान स्थगित गरिएको थियो ।
नयाँ नेतृत्व चयन गर्न आयोजित एमालेको राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा भइरहेको छ । गत शनिबार भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका थिए । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ । ओली लगातार तेस्रो कार्यकालका लागि पुनः निर्वाचनको प्रयासमा छन् ।
पार्टीको ३०१ सदस्यीय केन्द्रीय समितिका लागि कुल ६६० जना नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । मतदानका लागि ८० वटा मेसिन जडान गरिएको छ। महाधिवेशनमा २,२६३ जना प्रतिनिधिहरू सहभागी छन् ।




