दमौली, माघ २२ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै बुधबार दमौली बजार क्षेत्रमा घरदैलो सम्पन्न गरेका छन्। आगामी निर्वाचनको तयारीका क्रममा उनले मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरी मत अपील गरेका हुन्।
बिहान ८ बजेदेखि सुरु भएको घरदैलो कार्यक्रममा भट्टराईले व्यास नगरपालिकाका वडा नम्बर २, ३ र ४ का विभिन्न टोलहरूमा पुगेर स्थानीयका समस्या र अपेक्षा सुनेका थिए।
घरदैलोका क्रममा मतदाताहरूलाई सम्बोधन गर्दै उम्मेदवार भट्टराईले आफू सधैँ सुशासनको पक्षमा रहेको बताए। उनले भने, “मैले २०५४ सालदेखि नै भ्रष्टाचार विरुद्धको आन्दोलनको नेतृत्व गर्दै आएको छु। नीति निर्माण तहमा पुगेर यो अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने मेरो संकल्प छ।”
भट्टराईले पछिल्लो समय राज्यको माथिल्लो तहमा तनहुँको प्रतिनिधित्व र आवाज कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरे। जिल्लाबासीले महसुस गरेको यो रिक्ततालाई चिर्न आफू सक्षम रहेको दाबी गर्दै उनले भने,”तनहुँलाई भ्रष्टाचारमुक्त र नमुना जिल्ला बनाउने जिम्मेवारी म लिन तयार छु।”
घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो। मतदाताहरूले पनि भट्टराईलाई उत्साहजनक रूपमा स्वागत गर्दै जिल्लाको विकासका लागि सक्रिय भूमिका खेल्न सुझाव दिएका थिए।




