रुकुम पश्चिम, फागुन २६ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ मा सानीभेरी नदीले बगाउँदा दुई जना किशोरीको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छिन्।
मंगलबार बिहान स्थानीय भागले नजिकै नदी किनारमा बाँफीकोट–३ गर्लागोठ निवासी १४ वर्षीया उर्मिला ओली र १२ वर्षीया कल्पना ओलीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। उनीहरूको शव करिब ५०० मिटरको दूरीमा फेला परेको प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो।
प्रहरीका अनुसार उनीहरूसँगै रहेकी १२ वर्षीया सपना ओली भने अझै बेपत्ता छिन्। सोमबार छिमेकीको विवाहमा गएका यी तीनै जना किशोरी घर फर्कने क्रममा नदीले बगाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिले जिल्ला प्रहरी कार्यालय र छिन्खेतस्थित अस्थायी प्रहरी पोस्टको टोलीले घटनास्थल पुगेर बेपत्ता किशोरीको खोजी कार्यका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको छ।




