काठमाडौँ, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत डिजिटल अर्थतन्त्र र सूचना प्रविधिको विकासका लागि दुई ठुला र दूरगामी महत्त्वका घोषणाहरू गरेको छ।
१. डिजिटल भुक्तानी गर्दा उपभोक्तालाई १० प्रतिशत भ्याट (VAT) फिर्ता
देशमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सरकारले डिजिटल भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गर्दा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो व्यवस्थाको घोषणा गर्नुभएको हो। हाल उपभोक्ताहरूले वस्तु तथा सेवा खरिद गर्दा १३ प्रतिशत भ्याट तिर्दै आएका छन्, जसमा अब डिजिटल माध्यमबाट भुक्तानी गर्दा आकर्षक छुट पाइनेछ।
२. नेपाल टेलिकमको ३४% सेयर बिक्री गरिने; संकलित रकम ‘टेक हब’ बनाउन खर्च हुने
सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा रहेको आफ्नो स्वामित्व परिमार्जन गर्ने भएको छ। बजेट भाषणका क्रममा अर्थमन्त्री डा. वाग्लेले नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत सेयर मात्र कायम राखी बाँकी ३४ प्रतिशत सेयर आगामी पुस मसान्तभित्र जनस्तर (सर्वसाधारण) मा बिक्री गर्ने घोषणा गर्नुभएको छ। यसरी सेयर बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकमलाई नेपाललाई सूचना प्रविधिको केन्द्र अर्थात् ‘टेक हब’ (Tech Hub) का रूपमा विकास गर्न उपयोग गरिने बजेटमा उल्लेख छ।




