काठमाडौं, असार २ । ई–पासपोर्ट खरिद प्रक्रियामा भएको अनियमितता आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित तीन उच्च अधिकारीलाई नियन्त्रणमा लिएको छ। आयोगले महानिर्देशक अर्यालका साथै विभागका प्रवक्ता एवं प्रशासन तथा व्यवस्थापन शाखाका निर्देशक सोमेश थापा र सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
यसअघि अनुसन्धानका क्रममा अख्तियारको टोलीले सोमबार साँझ नै विभाग पुगेर सम्बन्धित कागजातहरू नियन्त्रणमा लिएको थियो। ई–पासपोर्ट तथा सामग्री खरिद, ठेक्का व्यवस्थापन र निर्णय प्रक्रियामा ठेक्का सम्झौता उल्लंघन भएको र अनियमितता भएको आशंकामा आयोगले यो कदम चालेको हो। विभागको नेतृत्व सम्हालेका उच्च पदस्थ कर्मचारीहरू एकैपटक नियन्त्रणमा परेपछि सरकारी खरिद प्रक्रियाको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ।




