काठमाडौं, असार १० । नेपाली कांग्रेसले आफ्नो क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपाका अनुसार आगामी असार २० गतेभित्र गत जेठ २८ गतेपछि सदस्यता अद्यावधिक गर्न छुटेकाहरूलाई स्वयं अद्यावधिक गर्ने अवसर दिइनेछ भने नवीकरण हुन बाँकी सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण र १४औँ महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापन गरिनेछ। यसका साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको सदस्यता अद्यावधिक र पार्टी प्रवेश गरेका सदस्यहरूको व्यवस्थापन पनि सोही अवधिभित्र टुङ्ग्याएर असार महिनाभर विवरण रुजु गर्ने कार्य सञ्चालन हुनेछ।
विशेष महाधिवेशनपछि पार्टीको सदस्यता प्रणालीलाई डिजिटल र पारदर्शी बनाउने अभियानअन्तर्गत अनलाइनमार्फत यो प्रक्रिया अघि बढाइएको हो। पार्टीभित्र सदस्यतालाई लिएर देखिने विवाद समाधान गर्दै आगामी १५औँ महाधिवेशनलाई व्यवस्थित र विवादरहित बनाउने तयारीका रूपमा यस नयाँ कार्यतालिकालाई हेरिएको छ।





