काठमाडौं, असार १८ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहीबार बिहान ११:०० बजे बस्दैछ। दोस्रो अधिवेशनको ३०औँ बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
आजको बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरूमाथि दफावार छलफल र पारित गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३” माथि दफावार छलफल र पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिंग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३” लाई सदनमा दफावार छलफल र पारितका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले “सहकारी (पहिलो संशोधन) विधेयक, २०८३” र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले “स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३” माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरी पारितका लागि प्रस्ताव गर्ने महासचिव पद्म प्रसाद पाण्डेले जारी गर्नुभएको कार्यसूचीमा उल्लेख छ।




