काठमाडौं, असार २५ । काठमाडौँको नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका लागि बुधबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ रहेका छन्। बालमन्दिरको बहुमूल्य जग्गा अत्यन्तै सस्तो मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिएर अनुचित लाभ लिएको कसुरमा सीआईबीले उनीहरूमाथि अनुसन्धान सुरु गरेको छ।
यसअघि पनि प्रहरीले यो प्रकरणमा विस्तृत अनुसन्धान गरी मुद्दा चलाइसकेको छ। उक्त अनुसन्धानका क्रममा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित २० जना संलग्न रहेको खुलेको थियो। पूर्व पदाधिकारीहरूले मासिक जम्मा ९ लाख रुपैयाँ भाडा तोकेर विक्रम संवत २१३२ सम्मका लागि वृहस्पति विद्या सदनसँग सस्तो मूल्यमा सम्झौता गरेको अनुसन्धानबाट भेटिएको थियो। व्यापक विवाद र अनियमितता पुष्टि भएपछि बाल सङ्गठन सञ्चालक समितिको बैठकले उक्त पुरानो सम्झौता रद्द गरिसकेको छ।




