काठमाडौं, भदौ ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। सभापति लामिछाने नजाने भएपछि अब रास्वपाका सांसदहरूको टोली मात्रै चीन भ्रमणमा जाने भएको छ।
उच्च स्रोतका अनुसार भ्रमणको नयाँ मिति तय हुन नसकेपछि लामिछानेको भ्रमण स्थगित गरिएको हो। यसअघि अगस्टको दोस्रो साताका लागि तय भएको उनको चीन भ्रमण सारेर सेप्टेम्बर दोस्रो साताका लागि पुर्याइएको थियो। तर, उक्त समयमा पनि भ्रमण सम्भव नभएपछि तत्कालका लागि स्थगित गरिएको हो।
यसअघि भारत भ्रमण सम्पन्न गरेपछि लामिछाने चीन जाने कार्यक्रम तय भएको थियो। अब उनी अर्को उपयुक्त समयमा मात्रै चीन जानेछन् भने उनको भ्रमणको नयाँ मिति तय हुन बाँकी रहेको रास्वपा स्रोतले जनाएको छ।




