काठमाडौं, भदौ १९ । विपद्को कठिन समयमा चितवनका विद्यार्थीहरूले मानवीयता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। पदमपुरस्थित भिमोदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्च र व्यक्तिगत बचत काटेर विपद् पीडितहरूका लागि आर्थिक सहयोग जुटाएका छन्।
कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूले स्वस्फूर्त रूपमा सञ्चालन गरेको यस अभियानमा कक्षा १२ (विज्ञान संकाय) का विद्यार्थीहरू आराधना गुप्ता, करुणा चौधरी, मञ्जिषा अधिकारी र सञ्जिता केसीले नेतृत्व लिएका थिए। विद्यार्थीहरूको सक्रियतामा कुल २७ हजार १ सय ७० रुपैयाँ संकलन भएको छ।
संकलित रकम विद्यार्थी प्रतिनिधिहरूले विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेल, स्काउट शिक्षक सुशील कोइराला तथा जुनियर रेडक्रसका शिक्षक प्रतिनिधि अजय चौधरीलाई हस्तान्तरण गरेका हुन्। विद्यालय प्रशासनका अनुसार उक्त रकम कृषि विकास बैंकमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिसकिएको छ।
साना बालबालिकाहरूले देखाएको यो निस्वार्थ भावना र उत्साहको प्रशंसा गर्दै विद्यालय प्रशासन तथा शिक्षकहरूले सम्पूर्ण विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। विद्यार्थीहरूको यस पहलले संकटका वेला एकता र सामाजिक दायित्वको महत्त्वपूर्ण सन्देश दिएको विद्यालयको भनाइ छ।




