काठटमाडौं, भदौ २५ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि त्यसको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री यादवको आलोचना हुँदै आएको थियो। ग्यासको आपूर्ति सहज बनाउन सरकारको भूमिका प्रभावकारी नभएको भन्दै उपभोक्ताले समेत समस्या झेल्दै आएका थिए।
यसैबीच, मन्त्री यादवले बुधबार बसेको संसदीय समिति बैठकमा ग्यास अभावको समस्या उद्योगीका कारण उत्पन्न भएको दाबी गरेकी थिइन्। उनले समस्या समाधानमा कर्मचारीबाट समेत अपेक्षित सहयोग नपाएको गुनासो गरेकी थिइन्।
यादवले उद्योगीहरूलाई कारबाही गर्ने तथा आवश्यक परे लाइसेन्ससमेत खारेज गर्न सक्ने चेतावनी दिएपछि उद्योगी–व्यवसायी असन्तुष्ट बनेका थिए। व्यवसायीहरूले प्रधानमन्त्रीको कार्यालयमा समेत गुनासो गर्दै मन्त्रीको अभिव्यक्ति फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी दिएको स्रोतको दाबी छ।
मन्त्री यादवको राजीनामाको पछाडि पछिल्लो समय देखिएको ग्यास आपूर्ति विवाद तथा उद्योगी–व्यवसायीसँग बढेको टकरावसमेत कारण रहेको स्रोतले जनाएको छ। यद्यपि, राजीनामाको आधिकारिक कारण भने मन्त्री यादवको सचिवालय वा प्रधानमन्त्री कार्यालयबाट स्पष्ट रूपमा सार्वजनिक हुन बाँकी छ।
यादवको राजीनामापछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा निर्णय हुन बाँकी छ।




