काठमाडौं, असोज ९ । अविरल वर्षा र पहिरोका कारण प्रभावित बनेको मुग्लिन–नारायणगढ सडक खण्डमा पोखरातर्फ जाने सवारीसाधनहरूका लागि मात्र आवागमन खुला गरिएको छ।
प्रशासनका अनुसार आज (२०८३ असोज ९ गते शुक्रबार) मध्यान्ह १२:०० बजेको अद्यावधिक विवरण अनुसार पोखरातर्फ जाने गाडीहरूलाई गन्तव्यतर्फ पठाउन थालिएको हो।
यसैगरी, काठमाडौँ जाने सवारीसाधनहरूको हकमा भने सडकको अवस्था, पहिरोको स्थिति र मौसमलाई हेरेर मात्र आवागमन खुला गरिने जनाइएको छ।
लगातारको वर्षाका कारण सडक खण्डका विभिन्न ठाउँमा पहिरो जाने र ढुङ्गा खस्ने जोखिम कायमै रहेकाले यात्रु तथा चालकहरूलाई सजग रहन र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न अनुरोध गरिएको छ।




