कञ्चनपुर, असोज १४ । कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको प्रसिद्ध झोलुङ्गे पुल बाढीका कारण भत्किएको छ।
महाकाली नदीमा आएको तीव्र बाढीले बीचको पिल्लर भत्काएपछि आज बिहान करिब ८ बजे पुलको लट्ठा चुँडिएको हो। प्रत्यक्षदर्शीका अनुसार नदीको बीच भागमा रहेको पिलर ढलेसँगै पुलको केही भाग नदीमा खसेर बगेको छ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर तथा दोधारा चाँदनी नगरपालिकातर्फबाट तेस्रो नम्बरमा रहेको पिलर बाढीको तीव्र बहावले ढालेको हो।
एसियाकै लामा झोलुङ्गे पुलहरूमध्ये एक मानिने यो पुल चुँडिएपछि सो क्षेत्र भएर हुने दैनिक आवागमन पूर्ण रूपमा ठप्प भएको छ। स्थानीय प्रशासनले जोखिम बढेकाले सो क्षेत्र आसपास नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




