काठमाडौं, असोज १६ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको प्रचारप्रसारलाई वातावरणमैत्री र प्रविधिमैत्री बनाउने जनाएको छ। पार्टीले महाधिवेशनका क्रममा शहरका भित्तामा पर्चा तथा पोस्टर टाँस्ने र अनावश्यक तामझाम गर्ने शैलीलाई निरुत्साहित गर्ने भएको हो।
महाधिवेशनको तयारीबारे शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रचारप्रसारमा प्रविधिको अधिकतम प्रयोग गर्न उम्मेदवारहरूलाई आग्रह गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार महाधिवेशनका क्रममा शहरमा प्रचार सामग्री टाँस्नुको सट्टा डिजिटल माध्यम र डिजिटल बोर्डको प्रयोग गरिनेछ। उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि पर्चा नछाप्नसमेत आग्रह गरिएको छ।
प्रवक्ता चालिसेले भन्नुभयो, “१५औँ महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री शहरमा टाँसिँदैन। सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरूलाई आग्रह गरिएको छ। वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ।”
कांग्रेसको आधिकारिक विवरणअनुसार १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा आयोजना हुने तय भएको छ।
पार्टीले महाधिवेशनलाई व्यवस्थित बनाउन प्रचारप्रसारसँगै डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ।




