भरतपुर १२ भदौ l
कुनै समय प्रजातन्त्रको पर्याय मानिएको नेपाली काँग्रेस पार्टीभित्र पछिल्लो समय अराजकता बढ्दै गएको छ । पार्टीको केन्द्रीय नीति विपरीत स्थानीय स्तरमा अनेक बखेडा झिक्ने र पार्टीलाई तहसनहस बनाउने काममा जिल्ला नेतृत्व नै लागेको हो कि भन्ने आभाष पाउन थालिएको छ ।
मोही माग्ने ढुंग्रो लुकाउने किन ? प्रष्ट शब्दमा भन्नु पर्दा प्रसंग चितवन काँग्रेसकै हो । पाँच महिनाअघि स्थानीय निर्वाचनका बेला गठबन्धनको उग्र विरोध गर्दै भरतपुर महानगरपालिकामा काँग्रेसले मेयर पद छाड्दैन भनेर सबैभन्दा बढी कुर्लिएका जिल्ला सभापति राजेश्वर खनाल, पूर्वसभापति जितनारायण श्रेष्ठ, केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ र दिनेश कोइरालाले नै अन्ततः प्रचण्डपुत्री रेनु दाहाललाई काँधमा बोकेर हिँडे । काँग्रेसको साख जोगाउन भन्दै कृष्णलाल सापकोटा, जगन्नाथ पौडेल, भीमबहादुर श्रेष्ठ, मीना खरेललगायत अडिग रहे । त्यो चट्टानी अडानले “भुइँकटहर” जन्मायो ।
“भुइँकटहर”को जन्मपछि भरतपुर महानगरपालिकामा आएको निर्वाचनको नतिजाले नेकपा (माओवादी केन्द्र) लाई सबैभन्दा बढी फाइदा पुग्यो । एक्लै लडेको भए कुनै हालतमा मेयर बन्न नसक्ने रेनु दाहाल सजिलै दोस्रो कार्यकालका लागि मेयर भइन् । सबैभन्दा बढी घाटा नेपाली काँग्रेसलाई भयो । एक्लाएक्लै लडेको भए सजिलै मेयर जित्ने काँग्रेसले उपमेयरमा चित्त बुझाउनु प¥यो । त्यतिमात्र होइन, पार्टीभित्र अराजकता मौलायो । नातावाद र परिवारवाद हाबी भयो । वडाध्यक्षको टिकट दिने कुरामै पैसाको चलखेल भयो । काँग्रेसका उम्मेदवारले सजिलै जित्नु पर्ने केही ठाउँमा हार व्यहोर्नु प¥यो । घात, अन्तरघातका खेलहरु भए । यी सबै हुनुमा जिल्ला नेतृत्वको हात र साथ रहेको केही काँग्रेसीहरुको ठहर छ ।
केन्द्रलाई नटेर्ने हाँक कि रकम कुम्ल्याउने छाँट ?
देश यतिबेला आमनिर्वाचनको निकट छ । मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचन तोकिएको छ । पाँचदलीय सत्ता गठबन्धन प्रतिनिधिसभाको १६५ सिट र प्रदेशसभाको ३३० सिटको भागबण्डा कसरी मिलाउने भन्ने माथापच्चीमा लागेको छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसको चितवन जिल्ला नेतृत्व भने स्थानीय चुनावताकाझैँ भाँडभैलो मच्चाउने सुरमा बसेको हो कि भन्ने आशंका जन्मिएको छ । यस्तो आशंका जन्माएको हो, चितवन क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको छुट्टाछुट्टै बैठकले ।
विगतमा यस्तै बैठक गरेर भरतपुरको मेयर कुनै पनि हालतमा माओवादी केन्द्रलाई नछाड्ने भनेर “भुइँकटहर” जन्माउन पुगेकाहरु अहिले आएर पुनः त्यस्तै खेल दोहो¥याउन खोजिरहेका छन् । “भुइँकटहर” जन्माएर नेपाली काँग्रेसलाई फाइदा भयो कि घाटा ? अब फेरि त्यस्तै खेल खेलेर काँग्रेसलाई थप फाइदा हुन्छ कि घाटा ? पार्टी भाँडमा जाओस्, पार्टीको जिल्ला नेतृत्वले गाँठ कमाओस् भन्न यस्तो गुट बैठक गरिएको हो ? होइन भने यस्ता हर्कतले सिङ्गो नेपाली काँग्रेसलाई तहसनहस बनाउनेबाहेक अरु काम गर्दैन ।
अर्को महत्वपूर्ण कुरा के हो भने पार्टी भनेको जहिले पनि केन्द्रीय नीति र निर्देशनमा चल्नु पर्छ । जिल्ला तहमा अनेक खालका गुटबन्दी गरेर पार्टी बलियो हुँदैन । पार्टीको केन्द्रीय नीति विपरीत जिल्लामा जे पायो त्यही बोल्ने र मिडियाबाजी गर्नेहरुलाई पार्टीले कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ । निजी स्वार्थका लागि पार्टी र कार्यकर्तालाई प्रयोग गर्न थालियो भने त्यसले जन्माउने भनेको अराजकता नै हो । पार्टीभित्र अराजकता जन्मिएपछि अन्ततोगत्वा त्यसले सिध्याउने भनेको पार्टीलाई नै हो । पैसाको पछाडि दगुर्ने अवसरवादीहरुलाई त के छ र ? भोलि अर्को पार्टीमा छिर्न पनि सक्लान् । सच्चा काँग्रेसीहरुले पार्टीको साख जोगाउनेतर्फ आजै गम्भीर भएर सोच्न जरुरी छ । केन्द्रलाई नटेर्ने हाँक कतै रकम कुम्ल्याउने छाँट त होइन ? शंका जायज छ ।
पार्टीको जिल्ला नेतृत्वको मनोमानी र कमजोरीका विरुद्ध हिजोका दिनमा उठेका आवाजहरुको सुनुवाई हुन जरुरी छ । आफूलाई सर्वसम्मत चुनिएर आएको मान्ने जिल्ला नेतृत्वले सबैको साझा भएर काम गर्नुपर्छ । गुटबन्दीमै रमाउने हो भने नेतृत्वमा बसिरहन नैतिकताले दिँदैन । हिजोको गल्ती भोलि नहोस् । काँग्रेस बाँचोस्, बाँचिरहोस् ।




