पोखरा, २६ असोज ।
मनाङ प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका छन् । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ निर्विरोध भएका हुन् ।
दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए । उनका अनुसार दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राजीव गुरुङको एकल उम्मेदवारी रहेकाले निर्विरोध भएको बताए ।
दोर्जे लामा गुरुङले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश ‘२’ का लागि स्वतन्त्र उम्मेदवारी दिएकोमा उक्त पदमा उम्मेदवारी रहेका गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई पूर्ण रूपमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर मनाङेलाई सहयोग गर्ने घोषणा बुधबार बिहान फेसबुकमार्फत गरेका थिए ।
राजीवले मनाङ प्रदेश ‘२’ मा एमालेका समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताए । उनले २०७४ को निर्वाचनमा एमालेकै समर्थनमा जितेको र अहिले पनि एमाले समर्थनमै उम्मेदवारी दिएको बताउादै आएका छन् । उनले गण्डकी प्रदेशमा मन्त्री रहे पनि सत्ता गठबन्धन छोडिसकेको बताउँदै आएका छन् ।
एमालेकै पहलमा स्वतन्त्र उम्मेदवार दोर्जेलाई उम्मेदवारी फिर्ता गर्न लगाएको एमाले मनाङका सचिव एवं मनाङ प्रदेश ‘१’ का उम्मेदवार राजनबहादुर गुरुङले बताए ।




