एजेन्सी । उत्तरी जापानका निवासीहरूको निम्ति बिहीबार बिहान निकै तनावपूर्ण अनि अलमलयुक्त भयो । करिब ७ बजेर ५० मिनेट जाँदा मियागी तथा यामागाता प्रिफेक्चरमा हवाई आक्रमणबाट सावधान गराउने अलार्म बज्यो । नियमित टेलिभिजन कार्यक्रमहरू रोकिए अनि मानिसहरूलाई आश्रयस्थलमा जान सुझाइयो ।
जापानी तटरक्षकहरूका अनुसार उत्तर कोरियाले प्रहार गरेको एक क्षेप्यास्त्र त्यतैतर्फ आउँदै थियो । उत्तर कोरियाली क्षेप्यास्त्रहरूले यसअघि पनि जापान पार गरेको छ । गत महिना पनि एउटा क्षेप्यास्त्रले जापान पार गरेको थियो । यति धेरै दक्षिणी जापानी भूभागतर्फ क्षेप्यास्त्र लक्षित भएको भने यो पहिलोपटक थियो । तर बिहीबार बिहान प्रहार गरिएको क्षेप्यास्त्र जापानी हवाई क्षेत्र सम्म आइपुगेन । दक्षिण कोरियाका सैनिक सूत्रहरूका अनुसार उक्त क्षेप्यास्त्र आकाशमै विफल भयो र मुनि जापानी सागरमा खस्यो ।
त्यसोभए के अब सबैथोक साम्य भयो त ? के अब सर्वसाधारणले शान्तिपूर्वक कफी पिउनतर्फ लाग्दा भयो त ?
त्यसो होइन । पहिलो कुरा आफ्ना छिमेकीतर्फ विना कुनै चेतावनी त्यसरी बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेर उनीहरूलाई अब त्यो कता खस्ला भन्ने त्रासमा पार्नु सामान्य व्यवहार हुँदै होइन । त्यो त एकदमै खतरनाक र उक्साहटपूर्ण काम हो जुन स्थापित अन्तर्राष्ट्रिय व्यवहारविरुद्ध छ ।
त्यसले हवाई उड्डयन तथा पानीजहाजका आवतजावतमा खतरा उब्जाउँछ। यदि क्षेप्यास्त्र आकाशमै पड्किए पनि त्यसका टुक्राटाक्री तल खसेर जनधन जोखिममा पार्न सक्छ ।
दोस्रो कुरा यो घटना उत्तर कोरियाले दक्षिण कोरियाको तटपारि रेकर्ड सङ्ख्यामा क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट भएको छ । साथै अमेरिकाको महत्त्वपूर्ण चुनावहरूको केही दिन अघि मात्रै यो घटना भएको छ । किम जङ्(अनले उनको सैन्य क्षमताको प्रदर्शनप्रति अमेरिकी प्रशासनको ध्यान खिँच्ने आश गर्नेछन् ।
प्योङ्याङ के चाहन्छ ?
उत्तर कोरियाले जानाजान छिमेकीहरूसँग तनाव बढाउँदैछ । विश्लेषकहरू ठान्छन् ऊ अझ ठूला अस्त्र, सम्भवतः परमाणु परीक्षण, वा प्रशान्त महासागरसम्म पुग्ने गरी लामो दूरीको बलिस्टिक क्षेप्यास्त्र वा दुवै परीक्षण गर्न चाहन्छ । यी सबै हल्लाखल्लाको राजनीतिक उद्देश्य छ । सन् २०१० मा पनि प्योङ्याङले यस्तै व्यवहार देखाएको थियो । अनि सन् २०१७ मा पनि ।
पहिले तनावलाई डरलाग्दो स्तरमा बढाइदिने अनि दक्षिण कोरिया, जापान र अमेरिकासँग सम्पर्क तथा सुविधा खोज्ने । अहिलेपनि प्योङ्याङको लक्ष्य लगभग त्यही नै हुनुपर्छ । तर किम जङ्(अन को दोस्रो उद्देश्य पनि छ । उनको देशले क्षेप्यास्त्र प्रविधिलाई परिष्कृत पार्न सकेको छैन ।
कुनै क्षेप्यास्त्रलाई अन्तरिक्षतर्फ प्रहार गरिसकेपछि माथि पुगेर त्यसको वारहेड वा युद्धशीर्ष छुट्टिन्छ अनि फेरि पृथ्वीमै लक्ष्यतर्फ खस्छ । ‘रि इन्ट्री भेहिकल’मार्फत् वारहेड फर्कन्छ तर त्यसरी तल फर्कने भेहिकलले वायुमण्डलसँग टकराउँदा उत्पन्न हुने ठूलो परिमाणको ताप र चाप सहन सक्नु पर्छ ।
अघिल्ला परीक्षणहरूमा उत्तर कोरियाका रि इन्ट्री भेहिकल विफल भएका थिए । त्यसैलै प्रविधिलाई सिद्ध गर्न उसले निरन्तर परीक्षण गरिरहनुपर्छ । यदि बिहीबारको परीक्षण पनि विफल भएको हो भने त्यसले उत्तर कोरियाका सामु अझै विद्यमान चुनौती दर्शाउँछ। उसको मूल उद्देश्य केवल दक्षिण कोरिया र जापानलाई मात्र तर्साउनु होइन । त्यति त उसले अहिले नै गर्न सक्छ ।
उसको खास उद्देश्य परमाणु क्षमतायुक्त अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आइसीबीएम) मार्फत् अमेरिकालाई थर्काउनु हो । बिहीबार बिहान चेतावनीको घण्टी सुनेका मानिसहरू त साँच्चिएकै तर्सिएका होलान् । तर यदि जापानलाई थर्कमान बनाउनु उसको उद्देश्य हो भने त्यसको परिणाम उल्टो भइरहेको छ ।
प्योङ्याङका क्षेप्यास्त्र परीक्षण तथा ताइवानविरुद्ध चीनका पछिल्ला धम्कीहरूले जापानको राजनीतिमा दुरगामी असर पारिरहेका छन् । दशकौँसम्म जापानका दक्षिणपन्थीहरूले दोस्रो युद्धपश्चात् उक्त देशले अपनाएको शान्तिकामी संविधान त्यागेर देश फेरि हातहतियारले लैस हुनुपर्नेमा जोड दिइरहेका छन् ।आजका दिनसम्म अधिकांश सर्वसाधारण जापानीले त्यसमा असहमति प्रकट गर्दै आएका छन् । तर त्यो अवस्था बदलिँदो छ। सुरक्षा मामिलाका कट्टरपन्थीहरूका भनाइमा बल थपिँदै गएको छ ।
आगामी महिना जापान सरकारले रक्षा बजेटलाई अर्को दशकसम्म दोबर पार्ने तथा लामो दूरीका आक्रामक अस्त्र जोड्ने प्रस्ताव गर्दैछ । विवरणहरूका अनुसार जापानले अमेरिकासँग सयौँ टोमाहक क्षेप्यास्त्र किन्नेबारे कुराकानी गरिरहेको छ । त्यसो भयो भने दोस्रो विश्व युद्ध यता पहिलो पटक जापानसँग चीन र उत्तर कोरियाका भित्री भागसम्म मार हान्न सक्ने क्षमता हुनेछ । (बिबिसी न्युज नेपालीबाट)




