काठमाडौँ, २२ कात्तिक ।
प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पुलिसले मधेश प्रदेशलाई १९१ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
खेलमा दुवै टोलीले सेमिफाइनल यात्रा तय गरेका छन् । जितसँगै पुलिस समूह बिको विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने मधेश प्रदेश समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । खेलमा जितको लागि पुलिसले मधेश प्रदेशलाई २७४ रनको लक्ष्य दिएको थियो । जवाफमा मधेश प्रदेश २९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो ।
मधेश प्रदेशका लागि मोहमद आदिल आलमले सर्वाधिक ४२ रनको योगदान दिए । त्यसैगरी रत्न रौनकले ११ तथा कप्तान हरिसङ्कर शाहले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । मधेश प्रदेशलाई सस्तैमा समेट्नेक्रममा पुलिसका कुलश भुर्तेल एक्लैले ५ विकेट लिए भने करण केसीले ३ तथा राशिद खानले २ विकेट झारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २७३ रनको योगफल बनाएको थियो । पुलिसका लागि आरिफ शेख, अमित श्रेष्ठ र कप्तान दीपेन्द्र सिहं ऐरीले अर्धसतक प्रहार गरे । आरिफले सर्वाधिक ७३ रनको योगदान दिए भने अमितले ६५ रनको योगदान दिए ।
त्यसैगरी दीपेन्द्रले ५१ रन जोड्दा दीलीप नाथले ४० तथा सुनिल धमलाले ११ रन बनाए । बलिङतर्फ मधेश प्रदेशका रुपेश सिंह र राजेश यादवले समान ३÷३ विकेट लिए भने आदील आलमले २ विकेट झारे । जितसँगै पुलिसले चार खेलमा अपराजित रहदै ८ अङक जोड्यो भने समान चार खेल खेलको मधेश प्रदेशले पाँच अङ्क बनायो ।
आर्मी र एपीएफ पनि सेमिफाइनलमा
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ। मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको समूह ‘ए’को आफ्नो चौथो खेलमा आर्मीले कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।
प्रतियोगितामा आर्मीले टस हारेर पहिलो ब्याटिङ गर्दै २ सय ५५ रनको स्कोर तयार गरेको थियो। जवाफमा कर्णालीले २८।३ ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो। कर्णालीका विपिन रावलले सर्वाधिक ४८ रन बनाउँदा अर्जुन घर्तिले १७ तथा प्रकाश जैशी र सन्दीप शाहीले समान ११–११ रनको स्कोर बनाएका थिए। आर्मीका रोहित पौडेलले ३ तथा हरि चौहान र शाहब आलमले २–२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो। आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित ३७ रन बनाउँदा कुशल मल्ल र रोहित पौडेलले समान ३५–३५ रन जोडे। त्यस्तै हरि चौहानले ३१ रन जोड्दा अर्जुन साउँदले २० रन बनाए। थप दोहोरो स्कोरका रुपमा राजेश पुलामी २८ रनमा अविजित रहँदा अनिल मण्डल १७ रनमा आउट भए।
कर्णालीका प्रकाश जैसीले ३ विकेट लिँदा दीपेन्द्र रावतले २ विकेट हात पारे। जितसँगै आर्मीले समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो। आर्मीले ४ खेलमा ६ अंक जोड्न सफल रह्यो। यो समूहबाट एपीएफ ७ अंक जोडेर समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरिसकेको छ। आर्मीको जितले गण्डकी भने बाहिरिएको छ। कर्णाली पनि अंकविहीन रह्यो ।




