काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले बुधबार राजीनामा दिएका छन्।
भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयसमेत सम्हालेका मन्त्री घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र का हुन् । राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् ।
पत्र स्वीकार गर्दै प्रधानमन्त्री कार्कीले साढे तीन महिनासम्म तीन महत्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व गरेकोमा घिसिङलाई बधाई र धन्यवाद दिइन्। उनले उनको भविष्यको राजनीतिक प्रयासमा थप सफलताको कामना पनि गरिन्। मन्त्री घिसिङले यस अन्तरिम अवधिमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार पनि व्यक्त गरे।
चुनाव गराउने स्पष्ट ‘म्यान्डेट’सहित गठन गरिएको प्रधानमन्त्री कार्की नेतृत्वको नागरिक सरकारका मन्त्रीहरू नै दलीय राजनीतिमा खुलेआम संलग्न हुन थालेपछि सरकारको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको थियो । संवैधानिक जिम्मेवारी बिर्सेर राजनीतिक गतिविधिमा लिप्त मन्त्रीहरूप्रति सामाजिक सञ्जालदेखि जनस्तरसम्म व्यापक आलोचना चुलिएको अवस्थामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले अन्ततः कडा कदम चाल्दै राजीनामा मागेकी हुन् । मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री कार्कीले नामै तोकेर कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तालाई पदबाट अलग हुन निर्देशन दिएकी थिइन् ।




