काठमाडौं, फागुन ४ । पद र नामभन्दा कर्ममा विश्वास गर्ने र विगत चार दशकदेखि जनताको सुख-दुःखमा साथ दिँदै आएका हिमाल कार्की यस पटक काठमाडौँ निर्वाचन क्षेत्र नं. १० बाट प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका कार्की ‘सही व्यक्ति, सही ठाउँ’ को नारासहित जनताको घरदैलोमा पुगिरहेका छन्।
०२७ सालमा कीर्तिपुरमा जन्मिएका कार्कीको राजनीतिक यात्रा ०४३ सालमा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो। व्यवस्थापनमा स्नातकोत्तर गरेका उनीसँग बौद्धिक र व्यावहारिक दुवै अनुभव छ। ०५४ सालको स्थानीय निर्वाचनमा कीर्तिपुर वडा नं. ५ को अध्यक्षमा निर्वाचित भएर उनले सुशासन र पारदर्शिताको नमुना प्रस्तुत गरिसकेका छन्। हिजोको लोकतान्त्रिक आन्दोलनमा लाठी र गोलीको प्रवाह नगरी सडकबाट उठेका कार्की आज स्पष्ट दृष्टिकोण र भिजन भएको नेताका रूपमा परिचित छन्।
यस पटक कार्कीले ‘भिजन १० हिमाल कार्की मुभमेन्ट’ मार्फत स्थानीय सुशासन, विकास र सहकार्यको ठोस योजना अघि सारेका छन्। उनी केवल कागजी प्रतिबद्धतामा मात्र सीमित नभई नागरिकका समस्यामा घरआँगनमै उपलब्ध हुने बाचा गर्छन्। “इतिहास सम्झौताबाट होइन, संघर्षबाट बन्छ” भन्ने मान्यता राख्ने उनी राजनीतिलाई दलको दासताभन्दा पनि जनताको सशक्त आवाज बनाउनुपर्नेमा जोड दिन्छन्।
काठमाडौँ क्षेत्र नं. १० कांग्रेसका लागि बलियो क्षेत्र मानिन्छ, जहाँ यसअघि लगातार दुई पटक राजन केसीले विजय हासिल गरेका थिए। सोही विरासतलाई थप उचाइमा पुर्याउन कार्कीलाई स्थानीय मतदाताले एक निर्विकल्प र भरोसायोग्य पात्रका रूपमा हेरेका छन्। लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय रहेका र हाल दोस्रो कार्यकालका लागि जिल्ला सदस्य रहेका कार्कीलाई अनुभवी र जुझारु नेतृत्वको रूपमा स्थानीयले स्वीकारेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कार्कीको उम्मेदवारी केवल एउटा पदका लागि मात्र नभई विचार र सिद्धान्तलाई संस्थागत गर्ने एउटा अभियान हो। “बदलिएको कांग्रेसले अब देश बदल्छ” भन्ने राष्ट्रिय संकल्प बोकेर चुनावी मैदानमा होमिएका कार्कीलाई यस क्षेत्रको विकास र जनसेवाको नयाँ खम्बाका रूपमा हेरिएको छ।




