ललितपुर, फागुन ८ । पूर्व मिस नेपाल इन्टरनेशनल तथा नायिका नीति शाह र उनका प्रेमी याञ्चित राणा शुक्रबार औपचारिक रूपमा वैवाहिक बन्धनमा बाँधिएका छन्।
ललितपुरकाे झम्सिखेलस्थित न्यु प्लाजामा आयोजित परम्परागत समारोहमा दुवै परिवारका निकट आफन्त र साथीभाइको उपस्थितिमा उनीहरूको विवाह समाराेह चलिरहेकाे छ। यसअघि बैशाख ५ मा नै काठमाडौँ जिल्ला अदालतमा उहाँहरूले कानुनी विवाह गरिसकेका थिए।
पेसाले एरोस्पेस इन्जिनियर रहेका राणा र नीति विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए। सन् २०१७ को ‘मिस नेपाल इन्टरनेशनल’ उपाधि जितेकी नीतिले ‘खजुरे ब्रो’ फिल्मबाट अभिनय यात्रा सुरु गरी ‘ज्वाइँ साब’, ‘नरसिम्हा अवतार’ र ‘मोहर’ जस्ता चलचित्रमा अभिनय गरिसकेकी छन्।
विवाहअघि पोखरामा फेवाताल र माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा पारेर आकर्षक प्री-वेडिङ फोटोसुट र ब्याचलोरेट पार्टी आयोजना गरेको यो जोडीले शनिबार साँझ भव्य रिसेप्सन पार्टीको आयोजना गरेको छ।




