पर्सा, फागुन ११ । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले आज सोमबार बिहान ९:४५ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेश अनुसार, पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल–भारत सीमास्थित शङ्कराचार्य गेटभित्रको सम्पूर्ण भूभागलाई कर्फ्यु क्षेत्र तोकिएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लगाइएको यस निषेधाज्ञामा सर्वसाधारणको आवतजावत, भेला, जुलुस, सभा–सम्मेलन र घेराउ जस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ। अर्को सूचना नभएसम्मका लागि जारी गरिएको यो आदेश उल्लंघन गर्नेलाई सुरक्षा निकायले कडा कारबाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ।




