काठमाडौं, चैत्र ६ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
बिहीबार शीतल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गर्दै निर्वाचनको नतिजा र व्यवस्थापनबारे जानकारी दिनुभयो। प्रतिवेदनअनुसार कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६४ उम्मेदवार र एक जना स्वतन्त्र गरी १६५ जना तथा समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन्। यसपटकको संसद्मा ९६ महिला र १७९ पुरुषको प्रतिनिधित्व रहनेछ, जसमा खस/आर्यको हिस्सा सबैभन्दा बढी ४९.०९ प्रतिशत रहेको छ।
राष्ट्रपति पौडेलले जटिल परिस्थितिमा पनि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद व्यक्त गर्नुभएको छ।




