चितवन, चैत्र १० । नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई थप सुदृढ बनाउन सुदृढ एकता नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस चितवनद्वारा आयोजित ‘भेटघाट तथा विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसको गौरवशाली इतिहास र मध्यममार्गी लोकतान्त्रिक विचारलाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिए ।
उनले पार्टीभित्रको वैचारिक बहुलता र आन्तरिक लोकतन्त्र नै कांग्रेसको ‘सर्वाङ्गीण शक्ति’ भएको व्याख्या गरे। बीपी कोइराला र सुवर्ण शमशेरले दुई भिन्न शक्तिलाई एकीकृत गरेर कांग्रेस निर्माण गरेको ऐतिहासिक तथ्य स्मरण गर्दै महरले भने, “त्यही एकताको जगमा उभिएर आज हामीले झन् सशक्त र एकताबद्ध कांग्रेस निर्माणको संकल्प गर्नुपर्छ।”
पार्टीलाई जनमुखी बनाउन नेतृत्वदेखि तल्लो तहसम्म ‘निर्मम आत्मसमीक्षा’ आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीभित्रका विविध दृष्टिकोणलाई सहिष्णुताका साथ आत्मसात् गर्नुपर्ने औंल्याए। विश्व राजनीतिको दृष्टान्त दिँदै उनले बेलायतको लेबर पार्टीको पुनरुत्थानबाट पाठ सिकेर कांग्रेसले पनि रणनीतिक पुनर्जागरणको बाटो तय गर्नुपर्ने बताए।
विगतका गुटगत किचलो र आन्तरिक संघर्षलाई बिर्सेर अबको यात्रा ‘एकताबद्ध कांग्रेस’ मा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। आगामी १५औं महाधिवेशनमार्फत साङ्गठनिक र वैचारिक पुनर्संरचना गर्दै सबै आग्रह-पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्नेमा उनले जोड दिए।
“हामीले व्यक्तिगत कुन्ठा, आवेग र विगतका अतिरञ्जनापूर्ण अभिव्यक्ति त्याग्नुपर्छ,” नेता महरले अगाडि भने, “१५औं महाधिवेशनमा सबैको साझा पार्टी निर्माणको अभियानमा लागौं। यदि हामी एक हुन सकेनौं भने नेपाल र कांग्रेस दुवैको इतिहास जोगाउन चुक्नेछौं।” उनले लोकतन्त्रको रक्षा र मुलुकको सामाजिक-आर्थिक रूपान्तरणका लागि कांग्रेसभित्रको एकता नै पहिलो सर्त भएको दाबी गरे।




