काठमाडौं, जेठ ३ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताउनुभएको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति शर्माले बदलिँदो समय, नागरिकको उच्च अपेक्षा र युवा पुस्ताको चाहनाअनुसार संविधानलाई समयसापेक्ष बनाउँदै लैजान आवश्यक रहेको उल्लेख गर्नुभयो। वर्तमान परिस्थितिमा उठिरहेका प्रश्न र अपेक्षालाई सही ढङ्गले सम्बोधन गर्न नसके आगामी दशकमा मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने उहाँको चेतावनी थियो।
उपसभापति शर्माले संविधान संशोधनलाई दलगत स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो। आवेग र आग्रहभन्दा माथि उठेर नागरिक तथा युवा पुस्ताको भावनालाई केन्द्रमा राखी संविधान परिमार्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
काँग्रेसले संविधान संशोधन तथा समसामयिक राजनीतिक विषयमा आवश्यक गृहकार्य गर्न पार्टीका अर्का उपसभापति पुष्पा भुसालको नेतृत्वमा विज्ञ टोली परिचालन गरिसकेको जानकारी समेत उहाँले दिनुभयो। यस प्रक्रियामा पार्टीभित्र र बाहिरका बौद्धिक व्यक्तित्व, आलोचक तथा आम नागरिकबाट रचनात्मक सुझावको अपेक्षा गरिएको उहाँको भनाइ थियो।
युवा पुस्ताको अपेक्षा पूरा गर्न नसकिए भविष्यमा असन्तोष र विद्रोहको अवस्था सिर्जना हुनसक्ने उल्लेख गर्दै शर्माले भन्नुभयो, “अहिलेका युवाको आशालाई विश्वासमा बदल्न सकिएन भने १० वर्षपछिको अवस्था भयावह हुन सक्छ। अहिलेको ‘अल्फा जेनेरेसन’ वयस्क हुँदा फेरि नयाँ विमति र विद्रोह लिएर सडकमा उभिने वातावरण बन्न दिनु हुँदैन।”
लोकतन्त्र र विकास नै आजको युवा पुस्ताको मुख्य चाहना रहेको स्पष्ट पार्दै उहाँले लोकतान्त्रिक व्यवस्थाभित्र रहेर यी दुवै लक्ष्य हासिल गर्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताउनुभयो। देश सबैको साझा आँगन भएकाले राजनीतिक गतिरोध अन्त्यका लागि सरकार र प्रतिपक्ष दुवैले उत्तिकै जिम्मेवार ढंगले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो।




