काठमाडौं, जेठ ८ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भिजेको आउटफिल्डका कारण केही समय ढिलो गरी नेपाल र अमेरिकाबीचको आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ को खेल सुरु भएको छ।
टस जितेर अमेरिकाले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले सुरुवाती ३ ओभरमा बिना क्षति १९ रन जोड्दै राम्रो सुरुवात गरेको छ। अघिल्लो खेलमा कुशल भुर्तेलको उत्कृष्ट शतकको मद्दतले अमेरिकालाई ९ विकेटले पराजित गरेको नेपाल आज पनि जित निकाल्दै घरेलु सिरिजको सुखद अन्त्य गर्न चाहन्छ। कीर्तिपुर मैदानमा अमेरिकासँगका यसअघिका सबै तीन एकदिवसीय खेल जितेको बलियो इतिहास नेपालसँग छ।
यद्यपि, स्कटल्यान्डलाई हराएर उच्च मनोबलका साथ मैदान उत्रिएको अमेरिका नेपाललाई कडा चुनौती दिने दाउमा छ, जसले गर्दा लिग-२ को अंक तालिका सुधार्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ।




