चितवन, साउन १२ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत मुग्लिन नजिकैको खहरे खोलामा सुख्खा पहिरो खस्दा दुईतर्फी अवरुद्ध भएको सडकमा आंशिक रूपमा यातायात सञ्चालनमा आएको छ।
पहिरो हटाउन घटनास्थलमा तीन वटा हेभी मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य निरन्तर जारी रहेको छ। हाल एकतर्फी रूपमा सडक सञ्चालन गरी आपतकालीन सेवाका सवारीसाधन तथा साना सवारीसाधनलाई आवागमनको अनुमति दिइएको सम्बन्धित निकायले जनाएको छ।
ठूला सवारीसाधन भने पहिरो पूर्ण रूपमा हटाइएपछि मात्रै सञ्चालन गरिने सम्भावना रहेको छ। पहिरो हटाउने कार्य जारी रहेकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्न सक्ने बताइएको छ।
सम्बन्धित निकायले पहिरोका कारण रोकिएका सम्पूर्ण यात्रु तथा चालकहरूलाई धैर्य गर्न, सुरक्षाकर्मीको निर्देशन पालना गर्न तथा अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरेको छ। सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि थप जानकारी सार्वजनिक गरिने जनाइएको छ।




