नुवाकोट, भदौ १४ । नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरसहित सुरक्षा निकायको संयुक्त टोलीले उद्धार प्रयास तीव्र बनाएको छ। सुरुङसम्म पहुँच विस्तार गर्न ब्लास्टिङ गर्नेसम्मका विकल्प अघि बढाइएको छ।
प्राप्त पछिल्लो जानकारीअनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका १८ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६ जना गरी कुल ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ।
यसअघि उद्धार टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’ मा पुगेर २×३ फिटको प्वाल बनाउन सफल भएको थियो। सो प्वालबाट डोरीको सहायताले टोली तल झरेर सुरुङभित्र रहेका व्यक्तिलाई बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएको जनाइएको छ।
उद्धार कार्यलाई थप सहज र तीव्र बनाउन ठूला उपकरणको प्रयोग, ब्लास्टिङ तथा बनाइएको प्वाललाई थप फराकिलो पार्ने काम एकसाथ अघि बढाइएको छ।
कठिन तथा जोखिमपूर्ण परिस्थितिका बाबजुद उद्धारमा खटिएको संयुक्त टोली अहोरात्र उद्धार प्रयासमा जुटिरहेको जनाइएको छ।




