धादिङ । धादिङको धुनीवेशी नगरपालिका-६ चालिसेमा शनिबार भएको भीषण सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
पृथ्वी राजमार्ग अन्तर्गतको सडक खण्डमा शनिबार अपराह्न सवा ४ बजे सातवटा सवारी साधन आपसमा ठोक्किएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा स्कुल बससहित चारवटा बस, दुईवटा ट्रक र एउटा मोटरसाइकल परेका छन्।
त्यसमध्ये मोटरसाइकल चालक ५९ वर्षीय सेख अली एसको र अर्का एकजना पहिचान नखुलेका पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। गम्भीर घाइते भएका उनीहरुलाई टिचिङ अस्पताल लगिएकोमा साँझ सवाँ ६ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। दुवै शव टिचिङ अस्पतालमै राखिएको छ।
उक्त भीषण सवारी दुर्घटनामा सातवटा सवारी साधनका ७० जना परेको प्रहरीले जनाएको छ। त्यस्तै दुर्घटनामा ३५ जना घाइते भएका छन्। उनीहरूमध्ये केहीको उपचारपछि डिस्चार्ज गरिएको छ। प्रहरीका अनुसार एनएल ०१ एबी ४६५४ नम्बरको भारतीय डिब्बा ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनाका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग राति ११ बजेपछि दुईतर्फी सञ्चालनमा आएको थियो।




