काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्यमा प्रतितोला ९ हजार २०० रुपैयाँको भारी वृद्धि भएसँगै मूल्यले पहिलो पटक ३ लाखको सीमा पार गरेको हो।
बिहीबार प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन उल्लेख्य रूपमा बढेर ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि यसको प्रत्यक्ष असर परेको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ३२० रुपैयाँले बढेर ६ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ।




