गोरखा, चैत्र १ । गोरखाको शहीद लखन गाउँपालिका-३, कान्तारमा शनिबार भएको दुःखद माइक्रोबस दुर्घटनामा परी मृत्यु हुने सातै जना भारतीय नागरिकको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख भरतबहादुर बीकेका अनुसार मृत्यु हुनेहरूमा ५८ वर्षीय मुथु कुमार, ५८ वर्षीया अनामालिक, ५९ वर्षीया मीनाक्षी, ५३ वर्षीया शिवगामी, ५७ वर्षीया विजया, ५८ वर्षीया मीना र ६० वर्षीया तामिलारसी रहेका छन्। उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको हो।
मनकामना मन्दिरको दर्शन गरेर फर्किएका १६ जना तीर्थयात्री सवार उक्त विद्युतीय माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका अन्य सात जना यात्रुहरू—सोरणम (६२), मंगदा जालम (६५), सुभद्रा (७५), मायल (६५), सरोजा (७३), भाग्यलक्ष्मी (७५) र ३४ वर्षीया मीनाक्षीको अहिले चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। लमजुङ बेंसीसहरका ४६ वर्षीय चालक पुष्प मल्ल ठकुरी सकुशल रहेका छन् भने २९ वर्षीय सह-चालक सन्तोष गुरुङ घाइते भएका छन्। प्रहरीले यस घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
गोरखाको शहीद लखन गाउँपालिका-३, कान्तारमा शनिबार साँझ मनकामना मन्दिरको दर्शन गरी फर्किएका श्रद्धालु सवार माइक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो । बागमती प्रदेश ०१-००६ ख ८४३० नम्बरको उक्त विद्युतीय माइक्रोबस सडकबाट करिब २०० मिटर तल भिरमा खसेको थियो ।




