काठमाडौं, चैत ३ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको अवैध व्यापार र कालोबजारी गर्नेहरूको सूचना तुरुन्तै टोल-फ्री नम्बर ११३७ मा दिन नागरिकहरूलाई आग्रह गरेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावको बहानामा स्वदेशी बजारमा ग्यास होल्ड गर्ने र बढी मूल्यमा बेच्ने उजुरी बढेपछि विभागले यस्तो सक्रियता देखाएको हो।
हालैका दिनहरूमा विभागले बजारमा ग्यास लुकाइएको र तोकिएको भन्दा महँगोमा बिक्री भइरहेको फेला पारेको छ। नेपाल आयल निगमले आपूर्ति सहज बनाउन ‘हाफ सिलिन्डर’ (७.१ केजी) बिक्रीको व्यवस्था मिलाए पनि बजारमा अझै अभाव देखिएको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक क्रियाकलापमा संलग्नलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। देशभरबाट जोसुकैले पनि शंकास्पद गतिविधिको सूचना ११३७ मा दिन सक्नेछन्।
यसैबीच, ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा छापा मार्दा ६ हजार ३ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको भेटिएपछि विभागले उक्त उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। विभागले देशभर बजार अनुगमनलाई तीव्रता दिँदै कानुन मिच्ने ग्यास उत्पादक र वितरकलाई तत्काल कानुनी दायरामा ल्याइने बताएको छ।




