काठमाडाैं । पछिल्लो समय दैनिक नयाँ कीर्तिमान रचिरहेको सुनको मूल्यमा शुक्रबार भने ठुलो गिरावट आएको छ। बिहीबार नेपाली सुनबजारको इतिहासमै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज एकैदिन २० हजार ५०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो। तर, शुक्रबार एकाएक मूल्य ओरालो लागेपछि आजको बजार भाउ ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ।
सुनसँगै चाँदीको भाउ पनि सुस्त देखिएको छ। बिहीबार प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४४० रुपैयाँले घटेर ७ हजार ६५ रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको सीधा असर नेपाली बजारमा देखिएको हो। लगातार बढिरहेको मूल्यमा आएको यो ‘करेक्सन’लाई लगानीकर्ता र व्यवसायीहरूले अर्थपूर्ण रूपमा हेरेका छन्। केही समयदेखि आकाशिएको मूल्यका कारण शिथिल बनेको सुन बजारमा यो गिरावटले केही चहलपहल ल्याउने अपेक्षा गरिएको छ।




